FAQs Complain Problems

ताजा समाचार

शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

३१ भाद्र ।
शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि भूमे गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुको उपस्थितिमा पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाबाट समग्र ३३ वटै विद्यालयको अवस्था र समस्याका बारेमा १/१ जना प्रतिनिधि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले विवरण पेश गर्नुका साथै शैक्षिक सुधारका लागि रचनात्मक सुझाव समेत दिनुभएको थियो ।
भूमे गाउँपालिकाका अध्यक्ष श्री रामसुर बुढा मगरज्यूको पदभार ग्रहणको सुअवसरमा भएको शैक्षिक क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माणलाई मूर्तरुप दिन तथा समग्र शैक्षिक गुणस्तर कायम गर्न उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष मनकुमारी बुढा विष्टले जनप्रतिनिधिहरुको कार्यकाल ५ वर्षको मात्र भएपनि शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरुको कार्यकाल जीवनपर्यन्त भएकाले आफ्नो गाउँघरलाई योगदान गर्ने कार्यमा शिक्षकहरु पनि उत्तिकै जिम्मेवार भएको कुरा बताउनु भयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा भूमे गाउँपालिकाका अध्यक्ष श्री रामसुर बुढा मगरज्यूले विकासको पक्ष भौतिक विकास र मानव विकास भएकोले भौतिक विकास भन्दा पनि मानव विकास अझ महत्वपूर्ण भएकाले आफ्नो कार्यकालमा मानव विकासलाई अझ बढी जोड दिइने बताउनु भयो । मानव विकास भयो भने भौतिक विकास स्वतः हुने र भौतिक विकासबाट पनि मानव विकासमा टेवा पुग्ने भएकाले यी दुवै विकासलाई सन्तुलित गरेमा समृद्धिको सपना साकार पार्न धेरै टाढा नरहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयो- "शिक्षा क्षेत्र बहुआयामिक र बहुपक्ष समेट्ने क्षेत्र भएकाले मानिसको चेतना देखि बानी व्यवहारसम्ममा प्रभाव पार्ने भएकाले यो निरन्तर प्रक्रिया हो । यसर्थ, शैक्षिक क्षेत्रको सुधार प्रक्रिया पनि एक पटक गरेर नपुग्ने भएकाले योजना बनाएर निरन्तर कार्यान्वयन गर्नुपर्छ । यसको योजना निर्माणदेखि कार्यान्वयन हुँदै प्रतिफल प्राप्त गर्ने स्थानमा समेत शिक्षक तथा प्रधानाध्यापक र विव्यस अध्यक्ष हुने भएकाले दृढ भिजनयुक्त विव्यस अध्यक्ष, क्षमता र नैतिकताले भरिपूर्ण शिक्षक तथा प्रधानाध्यापक र अनुशासित विद्यार्थी भएमा शिक्षा क्षेत्र गुणस्तरीय हुने कुरामा कुनै शंका छैन ।" उहाँले गाउँपालिकाभरका विद्यालयहरुमा यथाशीघ्र आइसिटीमा आधारित शिक्षालाई समेत जोड दिइने र सोको गृहकार्य गाउँपालिकाले गरिरहेको बताउनुभयो ।

आगामी दिनमा कार्ययोजनालाई मूर्तरुप दिन तथा विद्यालय क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह र सुझावको लागि अनुरोध गर्दै सुझाव संकलनलाई थप प्रभावकारी बनाउन गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति श्री नरेन्द्र दाहालको संयोजक्तवमा सबै विव्यस अध्यक्ष र प्रधानाध्यापक सदस्य रहने गरी सुझाव समिति गठन गरिएको छ । सामाजिक विकास समितिका संयोजक एवं ५ नं वडाध्यक्ष श्री टेक प्रसाद बुढाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण गाउँपालिकाका कार्यकारी अधिकृत श्री चन्द्रसिंह श्रेष्ठले गर्नुभएको थियो ।

आर्थिक वर्ष: