FAQs Complain Problems

ताजा समाचार

भूम्या पर्वको शुभकामना

भूमे पर्व रुकुम (पूर्वी भाग) र रोल्पा जिल्लाका मगर खामभाषी समुदायको सबैभन्दा ठूलो र विशेष सांस्कृतिक पर्व हो । प्रकृति पूजक मगरहरुको सदियौं पहिलेदेखिको स्थानीय शासन सञ्चालन, भूमिको संरक्षण, संस्कृतिको संरक्षण तथा पुस्तान्तरण र आपसी एकताको सूत्रधारका रुपमा भूम्या पर्वलाई निरन्तरता  दिइरहेको छ ।  भूम्या पर्वको मक्सट बमोजिम नयाँ पुस्तामा क्रमशः हस्तान्तरण, पुस्तान्तरण र संरक्षणसँगै अझ बढी प्रभावकारी बनाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न समेत आवश्यक छ । प्रकृतिले दिएको अमूल्य उपहार जल, जमिन, जीवजन्तु, जङ्गलको संरक्षण गर्दै प्रकृति र मानव जीवन बीचको गहिरो सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भूम्या पर्वको अवसरमा पालिका, देश तथा विदेशमा रहनुभएका आम मगर खामभाषी मगर समुदाय लगायत सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

भूम्या पर्वको महत्वबोध गरी लुम्बिनी प्रदेश सरकारले असार १ गते रुकुम (पूर्वी भाग) जिल्ला र रोल्पा जिल्लामा स्थानीय बिदा दिइरहेको छ भने भूमे गाउँपालिकाले पनि हरेक वर्ष जेठ मसान्त र असार १ गते २ दिन स्थानीय बिदा दिइरहेको छ । स्थानीय भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष असार १ गतेदेखि भूम्या सांस्कृतिक प्रतियोगिता सञ्चालन गर्दै आएकोमा गत वर्षदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमण जोखिमका कारण बजेट तथा कार्यक्रमको सुनिश्चितता गरिए पनि गतवर्षझैं यस वर्ष पनि भूम्या सांस्कृतिक प्रतियोगिता सञ्चालन गर्न सकिएन । आगामी आर्थिक वर्षमा समयअनुकूल भएमा यस कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

अहिले हामी दोस्रो भेरियन्टको कोभिड १९ संक्रमण जोखिमले ग्रस्त छौं । कोभिड १९ विरुद्धको लडाईमा एकीकृत छौं । यो संक्रमणकालीन अवस्थामा पालिकाको लागि सांस्कृतिक कार्यक्रमभन्दा नागरिकको जीउ, ज्यान र स्वास्थ्यको प्राथमिकता अगाडि हुन्छ । संक्रमण जोखिम उच्च भए पनि आम पालिकाबासीको सहयोग, संघ तथा प्रदेश सरकार र नेता तथा प्रतिनिधिहरुको सहयोग, गैसस लगायत अन्य क्षेत्रको निरन्तर सहयोगका साथै अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरुको विशेष योगदानका कारण ठूलो संकट झेल्न परेको छैन । संकट आइपरेमा संकटसँग जुध्न पर्याप्त साधन स्रोत र क्षमता पनि स्थानीय सरकारसँग न्यून छ । रोग लागेर जीवन मरणको दोसाँधको अनुभव गर्नुभन्दा स्वस्थ्य जीवनको अनुभव गर्नु नै वुद्धिमानी ठहर्छ । तसर्थ अहिलेको यो अवस्थामा सामाजिक दूरी कायम गर्दै, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै जमघट नाचगान कार्यक्रम नगरी पूजा मात्र गरी भूम्या पूजा गर्न र पर्व मनाउन समेत भूमेबासीमा विशेष अनुरोध गर्दछु ।

भूम्या पूजाको अवसरमा भूमि देवताले हामी सबैको रक्षा गरून्, अनाज उत्पादनमा वृद्धि होओस्, प्राकृतिक प्रकोप हटाइदिऊन् ! सबैको सुख, शान्ति र समृद्धिको शुभकामना भूम्या पर्वको अवसरमा दिन चाहन्छु ।

 

रामसुर बुढा मगर

 

अध्यक्ष

आर्थिक वर्ष: